नेकपा आधिकारिकताको विवाद : ताकेता गर्दै प्रचण्ड–नेपाल पक्षका नेताहरु निर्वाचन आयोगमा – Nagarikabhiyan : National News

नेकपा आधिकारिकताको विवाद : ताकेता गर्दै प्रचण्ड–नेपाल पक्षका नेताहरु निर्वाचन आयोगमा

काठमाडौं । पार्टीको आधिकारिकता विवाद छिटो टुंग्याउन माग गर्दै नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

सो पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी आधिकारिता दिन ढिलाई गरेको भन्दै निर्वाचन आयोगमा ताकेता गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगको भूमिकाप्रति शंका गर्दै तत्काल टुंग्याउन माग समेत गरेको थियो ।

बिहीबार दिउँसो  प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे लगायतका नेता आयोग पुगेका छन् ।

यो पक्षले गत २० माघमा पनि वैधानिकता दाबीपत्र बुझाएको थियो । तर, आयोगले यसबारे कुनै निर्णय गरेको छैन । ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने बाहेक थप निर्णय आयोगले नगरेपछि प्रचण्ड–माधव समूह असन्तुष्ट छ ।

यसअघि बुधबार बसेको स्थायी कमिटि र केन्द्रीय समिति बैठकले निर्वाचन आयोगले विवाद निरूपणको काम नगरेको भन्दै आयोगको आलोचना गरेको थियो ।