चार दिनदेखि बेपत्ता भएका पिपरा गाउँपालिका वृद्ध दम्पती अहिलेसम्म भेटिएन, स्थानीयमा त्रास
१४ फाल्गुन २०७७, शुक्रबार १६:२७
काठमाडौं । गत सोमबार राति घरैबाट पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती बेपत्ता भएको थियो । वेपत्ता भएको चार दिन बित्तिसक्दा पनि अझै फेला परेका छैनन् । जसका कारण स्थानीयमा त्रास फैलिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई सुतिरहेकै अवस्थामा बेपत्ता पारेकामा अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन ।
बुढाबूढी मात्रै घरमा सुतिरहेका अवस्थामा बेपत्ता पारिनु र उनीहरुको ओछ्यान र चौकसमा रगतका छिट्टा देखिनुले घटना रहस्यमय भएको भन्दै प्रहरीले मङ्गलबार बिहानैदेखि व्यापकरुपमा खोजतलास गरिहेको जनाएको छ ।
प्रहरीले गाउँको चारैतिरको वन चौर, झाडी, खोलानाला र छिमेकी गाउँ तथा जिल्लाको विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको बताएको छ ।
वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरुको हत्या गरी शव बेपत्ता पारिएको हुन सक्ने स्थानीय बासिन्दाले आशङ्का गरेका छन् । उनीहरुको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म २० जनालाई झिकाई आवश्यक सोधपुछ गरिसक्दा पनि कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया