चितवनबाट फर्किए प्रचण्ड र नेपाल, देउवासँग छलफल हुँदै – Nagarikabhiyan : National News

चितवनबाट फर्किए प्रचण्ड र नेपाल, देउवासँग छलफल हुँदै

काठमाडौं  ।  प्रतिनिधि सभा पुनस्र्थापना गर्ने सर्वाेच्च अदालतको फैसलासँगै उत्पन्न परिस्थितिबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल चितवनको सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् ।

दुवै जना बुधबार बिहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं फर्किएका हुन् । बुधबार दिउँसो चितवनमा हुने विरोधसभालाई सम्बोधन गर्न मंगलबार नै चितवन आएका बेला सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि उनीहरुले विरोध सभालाई विजयसभा बनाउने बताएका थिए । तर अकस्मात परिस्थिति परिवर्तन भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न प्रचण्ड र नेपाल काठमाडौं फर्किनुपरेको एक नेताले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूनिकट स्थायी समितिको बैठक बोलाएका छन् । उनले थप असंवैधानिक कदम चाल्नसक्ने आशंका उत्पन्न भएका कारण त्यसलाई रोक्न पनि दलहरुबीच छलफल तत्काल गर्न आवश्यक रहेको ती नेताले बताए ।

प्रचण्ड–माधव समूहले आज अपराह्न संसदीय दलको बैठक समेत आह्वान गरेको छ । त्यसअघि सो समूहले काठमाडौंको शान्तिवाटीकामा विजय सभा आयोजना गर्दै छ । प्रचण्ड र नेपालको अनुपस्थितिमा चितवनको सभालाई पूर्वमन्त्री सुरेन्द्र पाण्डेलगायतका नेताले सम्बोधन गर्नेछन् ।