प्रचण्ड नेकपालाई ठूलो झटका, प्रचण्ड पक्षका पूर्वमन्त्री ओली समुहमा प्रवेश
८ फाल्गुन २०७७, शनिबार १२:०१
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षमा ठूलो झटका लगेको छ ।
प्रचण्ड पक्षमा लागेका पूर्वमन्त्री शेरबहादुर तामाङ पत्नी उषाकला राईसहित शनिबार ओली पक्षमा प्रवेश गरेका छन् ।
नेकपा विभाजन हुँदा सुरूमा ओली पक्षमा लागेपनि तामाङ दम्पती पछि प्रचण्ड पक्षमा लागेका थिए । सिन्धुपाल्चोकका प्रभावशाली नेता मानिएका दुवै जना फेरि आली पक्षमा लागेका हुन् ।
तामाङ विघटित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य रहेका छन् । उषाकला राई १ नम्बर प्रदेशको प्रदेशसभा सदस्य रहेकी छन् । शेरबहादुर र उषाकला दम्पती शनिबारै केपी ओली पक्षमा लागेको घोषणा गर्दैछन् ।
नेकपा विभाजन हुँदा तामाङ १ दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर त्यसपछि प्रचण्ड–नेपाल पक्षमा लागेका थिए ।
‘प्रचण्डलाई नेता मानेर उनलाई बोकेर हिँड्न सकिएन, त्यसैले हामी अब संस्थापन नेकपामा नै छौं,’ तामाङले भने ।
आज शनिबारै विराटनगरमा आयोजना हुने आमसभाबाट उषाकलाले ओली पक्षमा लागेको घोषणा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया