प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा पक्षविपक्षको बहस सकियो, अब फैसला कहिले ? – Nagarikabhiyan : National News

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा पक्षविपक्षको बहस सकियो, अब फैसला कहिले ?

काठमाडौं । प्रतिनिधिसभा संसद विघटन विरुद्धको मुद्दामा सर्वाेच्च अदालतमा सोमवारसम्म रिट निवेदक पक्षविपक्षको बहस सकिएको छ । सोमवार निवेदक पक्षका अधिवक्ताहरूले जवाफी बहस गरेका थिए ।

अब भोलि मंगलवारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस शुरू हुने भएको छ ।

विघटनको मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनबाट ३ जना र सर्वोच्च अदालत बार एसोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो ।

नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीको रूपमा चयन भएका थिए ।

क्युरीका प्रतिनिधि कुनै पक्षविपक्षमा नरही अदालतलाई कानूनी राय दिने छन् । एमिकस क्युरीको रायपछि फैसला आउने जनाइएको छ ।

यसअघि आइतवार र सोमवार रिट निवेदकका तर्फबाट जवाफी बहस गरिएको छ । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । मिडिया डबलीबाट