‘नेपालमा भाजपाको सरकार बनाउने रणनीतिमा गृहमन्त्री अमित शाह’
३ फाल्गुन २०७७, सोमबार १०:५९
नयाँ दिल्ली । भारतको त्रिपुराका मुख्यमन्त्री बिप्लव देवले नेपालमा भारतले भारतीय जनता पार्टी (भाजपा) को सरकार बनाउने योजना बनाइरहेको बताएका छन् । भारतका गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा पनि आफ्नो दल भाजपाको सरकार बनाउने योजना बनाइहेको उनले बताएका हुन् ।
भारतीय सञ्चारमाध्यम द वायरका अनुसार गृहमन्त्री शाहले रबिन्द्र सतवार्षिक भवनमा आयोजित एक बैठकमा भारतका सबै राज्यहरुमा भाजपाले जितेपछि नेपाल, श्रीलंकासहित छिमेकी मुलुकमा पनि भाजपाकै सरकार बनाइने बताएका हुन् । मुख्यमन्त्री विप्लकुमारको दाबी छ, “अमित शाह जब बीजेपीका अध्यक्ष थिए, तब उनले भनेका थिए– पार्टी आफ्नो दायरा बढाउन चाहन्छ र नेपाल र श्रीलंकामा शासन गर्ने योजना बनाइरहेको छ ।”
‘उत्तर-पूर्वी क्षेत्रीय सचिव अजय जमवलले हामी भारतका सबै राज्यहरुमा जित्ने र सरकार बनाउने छौं’ भनेपछि त्यसको जवाफमा गृहमन्त्री शाहले ‘हामी नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार बनाउँछौं । हामी पार्टीलाई श्रीलंका र नेपालमा पनि विस्तार गरेर सरकार बनाउछौं,” इस्ट मोजोले देवको भनाइ उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ ।
अहिले केरलामा भाजपाले त्यहाँको सरकार ढलाउने प्रयास गरिरहेको छ । त्यसैगरि पश्चिम बंगालमा ममता बेनर्जीको सरकार ढलाउने रणनीतिसमेत बनाएको देवले दाबी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गरेपछि नेपालमा राजनीतिक अस्थिरता बढेको छ । प्रधानमन्त्री ओलीले बहुमतको सरकार चलाउन नसकेर नयाँ जनादेशको खोजी गरिरहेको समयमा भारतीय पक्षबाट आएको यस्तो अभिव्यक्तिले थप राजनीतिक तरंग पैदा गरिदिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया