संचार क्षेत्रका समस्या र समाधान बारे सुझाव संकलन गरिने
३ फाल्गुन २०७७, सोमबार ०७:३३
राजविराज । प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरि प्रसाद भट्टराइले पत्रकारहरुले रिपोर्टिङको क्रममा भोग्नु परिरहेको समस्या बारे समाधान खोजीने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष भट्टराइले पत्रकारहरुले भोग्नु परिरहेको समस्या तथा सोको समाधान बारे सुझाव लिने कार्य सप्तरीबाट सुरुवात गरेको बताउनुभयो ।
उहाँले आउँदो दिनमा प्रदेश २ का ८ वटै जिल्लामा संचार क्षेत्रका समस्या र समाधान बारे सुझाव संकलन गरिने उहाँले जानकारी दिनुभयो ।
लामो समय पत्रकारिता गरि सेवा निवृत भएका अग्रज पत्रकारहरुलाई पेन्सनको समेत व्यवस्था गरिने बताउनुभयो ।
साथै पत्रिकाहरुको वर्गिकरण, पत्रकार आचारसहिंता लगायतका विषयमा देखिएका कमिकमजोरीमा सुधार गर्नेतर्फ काउन्सील र प्राधिकरणले मिलेर काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै सोही कार्यक्रममा आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले विगतमा भएका मधेश आन्दोलनमा पत्रकारहरुको सकारात्मक सहयोग रहेको बताउनुभएको छ ।
मिडियालाई अझ सशक्त बनाउन सबैको निरन्तर सहयोग आवश्यक रहेको बताउदै प्रदेश २ मा संचार क्षेत्रका समस्या गम्भिर रहेको भन्दै तीनको समाधानमा आफूहरु लागिपरेको उहाँले बताउनुभयो ।
त्यसको सुरुवात भएको उल्लेख गर्दै प्रदेश २ मा सरकारले आफ्नै टेलिभिजन, रेडियो तथा पत्रपत्रिका संचालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । यसका लागि पनि आवश्यक सुझाव दिन उहाँले सबैलाई आग्रह पनि गर्नुभयो ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, प्रेस काउन्सीलका पूर्व सदस्य अनिलकुमार अनल, मुरली यादव, देवराम यादव, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा,सल्लाहकार श्रवण देव लगायतले आ–आफ्नो सुझाव दिनुभएको थियो ।
प्रदेश २ सरकारद्वारा हालै गठित मिडिया काउन्सील तथा आमसंचार प्राधिकरणले आजदेखी सप्तरीबाट सुझाव संकलन सुरु गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया