पिसाब गर्न गएकी बालिकामाथि सामूहिक बलात्कार – Nagarikabhiyan : National News

पिसाब गर्न गएकी बालिकामाथि सामूहिक बलात्कार

विराटनगर । मोरङमा पिसाब गर्न घरबाट निस्कएकी बालिकामाथि सामूहिक बलात्कार भएको छ । मोरङको जहदा गाँउपालिका– १ कि १४ वर्षीया बालिकाको सोमबार राति ९ बजे सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

पिसाब गर्न निस्किएकी बालिका घर नफर्किएपछि अभिभावकले खोजी गर्दा दुई जनाले जबर्जस्ती मोटरसाइकलमा राखेर लगेको खुलेको थियो । गाउँमा हल्ला भएपछि गाउँलेहरु राति ११ बजे बालिकाको खोजीमा निस्किएका थिए र १ बजे प्रहरीले जानकारी पाएको थियो ।

करिब तीन घण्टापछि मोटरसाइकलमा लिएर गएकाहरुले बालिकालाई घर छेउमा ल्याएर छाडेका थिए । तीन घण्टापछि सम्पर्कमा आएकी बालिकालाई सोधपुछ गर्दा आफू बलात्कारमा परेको बताईन् |

घटनामा प्रयोग भएको को २२ प १८१६ नम्बरको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

‘बालिकालाई लगेपछि गाउँलेहरु खोजी गर्न निस्किएछन् । गाउँले निस्कदा हल्ला भयो’ थापाले भने ‘हल्ला भएपछि आरोपीहरु मोटरसाइकल छाडेर भारत भागे ।’ घटनामा संलग्नहरुको पहिचान भइसकेको बताउँदै उनले खोजी कार्य सुरु गरेको बताए ।

विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले दिएको जानकारी अनुसार घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको उनले बताए । प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई युवकको खोजी गरेको छ । बालिकाका छिमेकीहरुले दुबैजना छिमेकी टोलको रहेको बताएका छन् ।

बालिकाको तर्फबाट इलाका प्रहरी कार्यालय रानीमा मंगलबार जाहेरी दर्ता भएको छ । बालिकाको स्वास्थ्य परीक्षणका लागि माइती नेपालको सेफहाउसमा राखिएको प्रहरी निरीक्षक थापाले बताए ।