प्रधानमन्त्री ओली निर्वाचन आयोग पुगे
२७ माघ २०७७, मंगलवार १२:२६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओली मध्यान्ह ११ः५० बजे आयोग पुगेका हुन्।
वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको आधिकारिकता विवादजस्ता विषयमा छलफलका लागि प्रधानमन्त्री ओली आयोग पुगेको स्रोतको भनाइ छ।
प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। ओली र प्रचण्ड–नेपाल गरी दुई भिन्न समूह क्रियाशील छन्। उनीहरूले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्। आयोगले कुनै पनि समूहलाई नेकपाको आधिकारिकता दिएको छैन ।
सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे जानकारी गराउन पनि प्रधानमन्त्री ओली आयोग पुगेको बताइएको छ । मन्त्रिपरिषदले सोमबार वैशाख १७ गते ४० र वैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया