फ्रान्समा एक सभामा बम राख्ने योजना बुनेको आरोपमा इरानी कूटनीतिज्ञलाई २० वर्षको सजाय – Nagarikabhiyan : National News

फ्रान्समा एक सभामा बम राख्ने योजना बुनेको आरोपमा इरानी कूटनीतिज्ञलाई २० वर्षको सजाय

एजेन्सी।  फ्रान्समा एक इरानी कूटनीतिज्ञलाई निर्वासित विपक्षी समूहको तर्फबाट आयोजित सभामा बम राख्ने योजनामा दोषी ठहर गरिएको छ ।

हाल ४९ वर्षका असदुल्लाह असादी वियनास्थित इरानी दूतावासमा कार्यरत थिए । उनलाई सन् २०१८ को जूलाईमा पक्राउ गरिएको थियो ।  उनलाई बेल्जियमको एन्टवर्प अदालतले २० वर्षको जेल सजाय सुनाएको हो ।

कुनै इरानी अधिकारीमाथि सन् १९७९ को क्रान्तिपछि युरोपेली संघमा यस्तो प्रकारको आरोप लगाएको यो पहिलो घटना हो ।

असादीबाहेक अन्य तीनजनालाई पनि बम बिस्फोट गर्ने योजनामा दोषी ठहर गरिएको छ । उनीहरुलाई जर्मनी, फ्रान्स र बेल्जियमको प्रहरीले संयुक्त अपरेशनको क्रममा पक्राउ गरेका थिए ।

इरानले यी आरोप अस्विकार गर्दै आएको छ र यसलाई षड्यन्त्र बताइरहेको छ ।

सन् २०१८ को जूनमा निर्वासित नेशनल काउन्सिल अफ रेसिस्टेन्स अफ इरानको एक र्याली पेरिस बाहिर भएको थियो । यो सभामा हज्जारौं मानिसहरुको उपस्थिती थियो । यसमा डोनल्ड ट्रम्पका वकिल रुडी गुलियानी पनि समावेश थिए । सभामा बम बिस्फोट गराउने योजना भने विफल पारिएको थियो ।

असादीले लक्जमबर्गमा इरानी मूलका एक बेल्जियन दम्पत्तिसँग भेट गरेर उनीहरुलाई बिस्फोट दिएको आरोप लागेको छ । यो दम्पत्तिलाई पछि पक्राउ गरिएको थियो ।

यो मामिलामा फ्रान्सले इरानको गुप्तचर विभागमाथि योजना बनाएर हमला गरेको आरोप लगाएको थियो र फ्रान्सले दुई वरिष्ठ इरानी अधिकारीको सम्पत्ति जफत गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेको केही हप्तापछि यो निर्णय आएको हो । जो बाइडेन सत्तामा आएपछि इरानलाई आशा छ कि उनले ट्रम्पको तर्फबाट लगाइएको प्रतिबन्धलाई हटाउनेछन् ।