मानव कंकाल फेला
२१ माघ २०७७, बुधबार २०:३७
राजविराज । डेढ वर्षअघि हराएकी एक महिलाको आज कंकाल फेला परेको छ । सप्तरीको राजगढ गाउँपालिका १ झुटकीकी ७५ वर्षिया राशोदेवी पण्डितको कंकाल फेला परेको हो ।पोखरी जिर्णोधार गर्ने क्रममा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । वेपत्ता पण्डितको कंकाल भेटिएको खबर फैलिएपछि उक्त पोखरी किनारमा गाउँलेको भिड लागेको थियो ।
घरदेखी तीन सय मिटर टाढा रहेको सार्वजनिक ठाडी पोखरी जिर्णोद्वारमा खटिएका मजदुरहरुले उनको शव सडेगलेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले कंकालमा भेटिएको लुगा र दातको आधारमा उनको आफन्तले सनाखत गरेपछि हराएकी महिला पण्डितको नै शव भएको पुष्टि भएको बताए ।
उनका पति धनई तथा छोरा बुहारीले सनाखत गरेपछि सदगतका लागि जिम्मा लगाई यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मानसिक सन्तुलन गुमाएकी पण्डित २०७६ साल साउन ३० गते देखी नै वेपत्ता भएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया