चैत २ गतेदेखी बिष्णु महायज्ञ हुने
१९ माघ २०७७, सोमबार ०७:४९
राजविराज । सप्तरीको राजगढ गाउँपालिकामा आगामी चैत २ गतेदेखी सीताराम नाम संकिर्तन तथा बिष्णु महायज्ञका हुने भएको छ ।
महायज्ञको तयारीका लागि गठित मूल आयोजक समितिले आइतबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा विश्व शान्तिका लागि सो महायज्ञको आयोजना गर्न लागिएको समितिका संरक्षक जगतनन्दन दास (पगला बबा)ले जानकारी दिनुभयो ।
सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेनामा आगामी चैत २ गतेदेखी ११ गतेसम्म आयोजना हुने उक्त महायज्ञको ध्वजारोहन माघ ७ गते सम्पन्न भएपछि महायज्ञको तयारी द्रतगतिमा भइरहेको उहाँले बताउनुभयो ।
महायज्ञमा भारतको हिमाचल प्रदेश प्रान्तका जगतगुरु सरदानन्द समेतको सभागिता हुने बताउँदै उक्त महायज्ञका ५ लाख श्रद्धालु, भक्तजन तथा आममानिसको सहभागिता हुने संरक्षक दासले दाबी समेत गर्नुभयो ।
उहाँले भन्नुभयो “अहिले मुलुकमा विभिन्न खाले विपद् आइरहेको छ, विभिन्न खाले द्वन्द्व, विभेद तथा मतभेद उत्पन्नको अवस्था छ, सोको निराकरणका लागि महायज्ञ आवश्यक छ ।” महायज्ञ सप्तरीमा मात्र नभएर आगामी जेठ सम्ममा संघीय राजधानी काठमाडौंमा सम्पन्न गराउन पहल समेत भइरहेको छ ।
सो पत्रकार सम्मेलनमा मूल आयोजक समितिका अध्यक्ष गजेन्द्र कुमार मण्डलले महायज्ञमा १ सय ९ वटा मण्डपको तयारी अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
अध्यक्ष मण्डलले आफूहरुले नगद भन्दा बढी यज्ञका लागि चाहिने आवश्यक सामाग्रिहरुको व्यवस्थामा जुटेको जानकारी दिनुभयो ।
सो मण्डपमा २ हजार ४ सय किर्तन मण्डलीको सहभागिता रहने जानकारी दिदै महायज्ञका लागि रु एक करोड भन्दा बढी रकमको आवश्यकता पर्ने हुनाले त्यसका लागि विभिन्न उपििसमत गठन गरि आर्थिक संकलन कार्य भइरहेको उहाँले बताउनुभयो ।
यसअघि माघ ७ गते संरक्षक दासको प्रमुख अतिथ्य तथा प्रदेश २ का उद्योग पर्यटन राज्यमन्त्री सुरेश मण्डलले संयुक्त रुपमा महायज्ञको धोजारोहन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया