संक्रमितको संख्या बढ्दै तर, परीक्षण घटाउँदै सरकार – Nagarikabhiyan : National News

संक्रमितको संख्या बढ्दै तर, परीक्षण घटाउँदै सरकार

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण भने घटेको छ । आरएनए एक्स्ट्राक्सन किट अभावमा पिसिआर परीक्षण घटेको मात्र छैन, पाँच ठाउँका प्रयोगशाला ठप्प भएका छन् ।

कोरोना भाइरस पत्ता लगाउने प्रक्रियामा आरएनए एक्स्ट्राक्सन किट अत्यावश्यक हुन्छ । कोरोनाको जीवाणु तीनवटा लेयर (पत्र) भएको खोलभित्र बसेको हुन्छ । खोल टुक्राटुक्रा पारेर जीवाणु पत्ता लगाउने रसायन नै आरएनए एक्स्ट्राक्सन हो । राज्यको सम्पूर्ण साधन र स्रोत परिचालन गर्न सक्ने सरकारले १०६ दिनसम्म आरएनए एक्स्ट्राक्सन किट जुटाउन सकेन, जर्मनी र स्विट्जरल्यान्डबाट ३४ हजार किट आएकोले अब परीक्षणले गति लिने सरकारको भनाइ छ ।

तर, बिहीबारसम्म काठमाडौंको वीर अस्पताल, चितवनको भरतपुर अस्पताल, धुलिखेल अस्पताल तथा हेटौँडा र धनगढीस्थित प्रयोगशालामा आरएनए किट सकिएका छन् । सरकारले धनगढी र हेटौँडाका लागि सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत किट पठाएको थियो । उनीहरूले पटक–पटक संघीय सरकारसँग किट माग गरेका छन्, तर पाउन सकेका छैनन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा एक सय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय ५०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय, नारायणी अस्पतालमा दुई सय र कोसी अस्पताल विराटनगरमा ५० किट आरएनए बाँकी छ । त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पनि दुई दिन पुग्ने किट बाँकी रहेको जनाएको छ ।

किट अभावका कारण पिसिआर परीक्षण पनि घटेको छ । दैनिक एक हजारदेखि १५ सयसम्म हुँदै आएको पिसिआर परीक्षण हाल दुई सयको हाराहारीमा झरेको छ । बिहीबार भने चार सय १५ नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सहयोगी संस्थाहरूले पिसिआर रिएजेन्ट दिएको, तर आरएनए किट नदिएका कारण समस्या भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । सरकारले ओम्नी समूहमार्फत किनेका १० हजार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग भएका तीन हजार र राष्ट्रिय क्षयरोग केन्द्र र केही निजी प्रयोगशालाले सहयोग गरेका आरएनए किटबाट हालसम्म परीक्षण हुँदै आएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले स्वीट्जरल्यान्ड र जर्मनी सरकारले सहयोग गरेका आरएनए किट बिहीबार आइपुगेकाले तत्कालै समस्या समाधान हुने बताए । उनका अनुसार स्वीट्जरल्यान्डले ३० हजार आरएनए किट र ३० हजार पिसिआर रिएजेन्ट तथा जर्मनीले चार हजार आरएनए किट सहयोग गरेको छ । ‘मन्त्रालयले अभाव भएका ठाउँमा तत्काल आरएनए एक्स्ट्राक्सन किट पठाउँछ,’ उनले भने ।

डा. पोखरेलले सेनाले समयमै स्वास्थ्य सामग्री ल्याउन नसकेका कारण पनि समस्या भएको बताए । सेनाले २६ हजार आरएनए किट ल्याउनुपर्नेछ । मंगलबारसम्म ल्याइसक्नुपर्ने भए पनि सेनाले अहिलेसम्म ल्याउन सकेको छैन । स्वास्थ्य मन्त्रालयले गरेको खरिद प्रक्रियामा विवाद भएपछि सरकारले जिटुजी प्रक्रियामार्फत सामग्री खरिद गर्ने र त्यसको समन्वय सेनाले गर्ने निर्णय गरेको थियो ।

आरएनए किटको मुख्य बजार भारत हो । तर, अहिले उसले आरएनए किट निर्यातमा पूर्ण रूपमा रोक लगाएको मन्त्रालयको व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले बताए । ‘सहयोग गर्नेहरूले पनि पिसिआर रिएजेन्ट दिए, तर आरएनए एक्स्ट्राक्सन किट दिन सकेनन्, त्यसैले पनि समस्या देखियो । चाँडै व्यवस्थापन हुन्छ,’ उनले भने ।

महाशाखाले १५ हजार आरएनए किट, १५ हजार पिसिआर रिएजेन्ट र २५ हजार भिटिएम खरिदका लागि गरेको टेन्डर आँखु इन्टरप्राइजेज प्रालिले पाएको छ । उसले अबको १५ दिनभित्र सामग्री ल्याइसक्नुपर्छ । तर, विश्वव्यापी अभाव भएकाले समयमा ल्याउन सक्ने आधार नदेखिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार नेपालमा हरेक वर्ष दुई हजार पाँच सयदेखि तीन हजारसम्म आरएनए किट खपत हुँदै आएको थियो । यसको म्याद एक वर्ष हुने भएकाले यसको खपत पनि नेपालमा न्यून छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबारसम्म पिसिआर प्रविधिमार्फत १४ हजार पाँच सय ११ जनाको नमुना परीक्षण गरिएको छ । तर, प्रदेशहरूले उपलब्ध गराएको तथ्यांकअनुसार १२ हजार ६ सय ६१ मात्रै परिक्षण भएको छ । मन्त्रालयले भने जिल्लागत बिस्तृत विवरण आउन बाँकी रहेकाले प्रदेशको तथ्याँक कम देखिएको जनाएको छ ।

हाल देशभर १७ हजार तीन सय ७२ जना क्वारेन्टाइनमा र एक सय ३३ जना आइसोलेसनमा छन् । सम्भावित कोरोनाको जोखिममा तीन सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना परीक्षणबारे ५ प्रश्न 
  • डा. मेघराज बञ्जारा (विभागीय प्रमुख, माइक्रोबायोलोजी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय)

१. कोरोना परीक्षणमा आरडिटी र पिसिआरमा के फरक छ ? पिसिआर किन बढी विश्वसनीय मानिएको हो ? 

भाइरस प्रवेश गरेपछि त्यसको प्रतिरोध गर्न शरीरले एन्टिबडी उत्पादन गर्न थाल्छ । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी)ले शरीरमा एन्टिबडी उत्पादन भएको छ कि छैन भनेर जाँच्ने काम गर्छ । एन्टिबडी उत्पादन भएको छ भने भाइरस पनि छ भन्ने विश्लेषण गरिन्छ, त्यो विश्लेषण सधैं सही नहुन सक्छ । तर, पोलिमरेज चेन रियाक्सन (पिसिआर) परीक्षणले सीधै भाइरस नै खोज्ने काम गर्छ । त्यसैले यो अलि बढी विश्वसनीय मानिन्छ । आरडिटीको परीक्षण रगत निकालेर गरिन्छ । रगत किटमा हालेपछि एउटा मात्र धर्को आएमा नेगेटिभ मानिन्छ भने दुई धर्का आए पोजेटिभ मानिन्छ । पिसिआर परीक्षणमा भने घाँटी र नाकबाट स्वाब लिइन्छ । पिसिआर परीक्षणका लागि नमुना लिँदा घाँटीको तल्लो भागबाट स्वाब लिनुपर्छ, माथिबाटै र्‍याल मात्र निकालेमा संक्रमितको पनि रिपोर्ट नेगेटिभ आउन सक्छ ।

२. निको भएर घर गएका व्यक्तिको पनि कोरोना पोजेटिभ देखिने गरेको छ, यसको कारण के होला ? 

निको भएर गएको बिरामीमा पनि शरीरले एन्टिबडी उत्पादन गरिरहेको हुन सक्छ वा पुरानो एन्टिबडी नै बाँकी रहन सक्छ । त्यसले भाइरस पोजेटिभ देखाउँछ । कोरोना भाइरस एकैथरीको छैन । यसका सात प्रजाति छन् । चार प्रजाति पहिला पनि नेपालमा देखिएका हुन् । अहिले नेपालीमा देखिएको कोरोना भाइरस कोभिड– १९ नभएर अरू नै प्रजातिको कोरोना भाइरस पनि हुन सक्छ । किनभने हरेक कोरोना भाइरसले एन्टिबडी बनाउँछ र त्यो लामो समय रहन पनि सक्छ । हामीकहाँ पहिले आएको कोरोना नै अहिले परीक्षण गर्दा देखिएको पनि हुन सक्छ ।

३. कोरोना संक्रमित भए पनि कोरोना परीक्षणमा नेगेटिभ हुन सक्छ भनिएको छ, त्यस्तो किन हुन्छ ? 

रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिमा कोरोना भाइरस प्रवेश गरे पनि शरीरले एन्टिबडी उत्पादन नगर्न वा अत्यन्तै कम गर्न सक्छ । त्यसैले त्यस्ता व्यक्तिमा कोरोना संक्रमण भए पनि आरडिटीले पोजेटिभ नदेखाउन सक्छ । त्यसैले दीर्घरोगी कोरोना भाइरसको जोखिममा छन् भनिएको हो ।

४. पहिले आरडिटी होइन, पिसिआर ल्याब पुगेन भनियो, अहिले पिसिआर ल्याब त भयो, तर एक्स्ट्राक्सन किट पुगेन भनेर चर्चा भइरहेको छ, यो एक्स्ट्राक्सन किट भनेको के हो ? 

कोरोनाको जीवाणु एउटा खोलभित्र हुन्छ । खोलमा तीनवटा लेयर (पत्र) हुन्छ । ती लेयर नफुटाई भाइरसलाई छुट्याउन सकिँदैन । खोल टुक्राटुक्रा पार्ने रसायन नै आरएनए एक्स्ट्राक्सन हो । खोल फुटाएपछि भाइरस छुट्याउन ‘सेन्ट्रिफ्युज’ गरिन्छ । १३ हजार आरपिएमको गतिमा भाँडो घुमाएपछि आरएनए र प्रोटिन छुटिन्छ । यसरी भाइरस पत्ता लगाउने प्रक्रियाका लागि आरएनए एक्स्ट्राक्सन किट आवश्यक हुन्छ । त्यस्तै पिसिआर रिएजेन्टले भाइरसको एउटा आरएनएलाई कपी गरेरै धेरै भाइरस (आरएनए) बनाउँछ । जसले लाखौँ भाइरस फोटोकपी गरेर देखाउँछ । यो रियलटाइम पिसिआरले जति आरएनए फोटोकपी गर्दै जान्छ त्यति उज्यालो दिँदै जान्छ । नेगेटिभ आए उज्यालो (फ्लोरिसेन्स) आउँदैन । फ्लोरिसेन्स आए भाइरस भएको मानिन्छ ।

५. शरीरमा कति दिनमा एन्टिबडी निस्कन्छ ?

भाइरस शरीरमा प्रवेश गर्नासाथ एन्टिबडी बन्दैन । यसका लागि दुई सातासम्म लाग्न सक्छ । यो अवधिमा आरडिटी गर्दा संक्रमित भए पनि पोजेटिभ देखाउँदैन । संक्रमण भएको १९ दिनपछि पर्याप्त मात्रामा शरीरमा एन्टिबडी निस्कन्छ अनि मात्रै आरडिटी परीक्षणमा पोजेटिभ देखिन्छ । लक्षण नदेखिए पनि कसैमा १३ दिनपछि एन्टिबडी उत्पादन भइसकेको हुन्छ, त्यसैले परीक्षण गर्दा आरडिटीमा पोजेटिभ आउन सक्छ ।  नयाँ पत्रिका दैनिकबाट