नेपाल टेलिकममा चोरी गर्ने गिरोह पक्राउ गरि सार्वजनिक
११ माघ २०७७, आईतवार १८:२५
राजविराज । टेलिकमकै कर्मचारी हुँ भन्दै नेपाल टेलिकमको बिटीएस साइट (टावर)मा लाखौं रुपैयाँ बराबरको सामान चोरी गर्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलनमा नेपाल टेलिकमको बिटीएस साइट (टावर)मा लाखौं रुपैयाँ बराबरको सामान चोरी गर्ने ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्लाको सिरहाको लहान नगरपालिका–१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, सोही नगरपालिका–३ ढगराहाका ३५ वर्षीय सुर्यनारायण महतो, सोही वडाका ३५ वर्षकै पवन जैसवाल र गोलबजार नगरपालिका–४ का ४१ वर्षीय दिपक अग्रवाललाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलालले जानकारी दिनुभयो ।
पक्राउ परेकामध्ये यादवले टेलिकमकै कर्मचारी हुँ भन्दै गत पुस २३ गते विहान सुरुङ्गा नगरपालिका–२ हर्दियामा रहेको नेपाल टेलिकमको जिएसएम टावरमा प्रयोग भएको करिब रु १० लाख मुल्य पर्ने २४ थान ब्याट्री तथा ३५ एमएमको २० र अर्थिङ केवल २५ मिटर लुटेका थिए ।
अन्य तीन जना भने उनलाई ती सामानहरु निकाल्नेदेखि खरिद–विक्री गर्नेमा सहयोग रहेको अनुसन्धानबाट खुल्न आएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक धमलाले बताउनुभयो ।
घटनापछि टेलिकमबाट आएको निवेदनअनुसार अनुसन्धान गर्ने क्रममा सिसीटिभी, स्थानीयहरुको बयान र टेलिकमको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट डाँका गर्न प्रयोग गरिएको ना ४ ख ७२४६ नम्वरको मिनी ट्रक र ७ वटा ब्याट्री बरामद गरिएको छ ।
यता पक्राउ परेका उनीहरुमाथि डाँका सम्वन्धी मुद्दामा १० दिनको म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोही पत्रकारमा लागुऔषसहित पक्राउ परेका दुई जनालाई समेत सार्वजनिक गरिएको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित हनुमाननगरबाट तिलाठीतर्फ जाँदै गरेको सप्तकोशी नगरपालिका–८ का २३ वर्षीय देवनारायण खंग र भारतबाट लागु औषध ल्याउन लगाएका सोही नगरपालिका–४ का संतोष खड्कालाई सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक भुवनेश्र साहले जाकनारी दिनुभयो ।
खंगको साथबाट डाइलेक्स डिसी २ बोतल, लिजेस्टिक इन्जेक्सन १५ एम्पुल, डाइजेपाम इन्जेक्स २० एम्पुल, फेर्नागन इन्जेक्सन २१ एम्पुल र स्पास्मो प्रोसिभोम १४ क्याप्सल बरामद भएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिइाक साहको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया