शिक्षाक्षेत्रमा एकवर्ष भित्र परिवर्तन : मेहता
१० माघ २०७७, शनिबार १७:४७
इनरुवा । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले इनरुवा क्षेत्रमा शैक्षिक क्षेत्रको नयाँ परिवर्तन अनुभुत हुने गरी काम थालेको बताएका छन् ।
शनिवर सदरमुकाम इनरुवामा स्थानीय विधार्थीहरुको मेयरसँग अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै प्रमुख मेहताले विज्ञानशास्त्रमा कक्षा १२ सम्म पठनपाठनका लागि आफू प्रयासरत रहेको बताएका हुन् । इनरुवा नगर क्षेत्रमा विद्यार्थी ओसार्नका लागि इनरुवा बाहिरका २२ वटा बस आइरहेको तथ्यलाई मध्यनजर गरी इनरुवामै विज्ञानशास्त्रको पठनपाठनका लागि अगामी शैक्षिक सत्रबाट पढाई हुने गरी कक्षा सञ्चालनको तयारीमा रहेको बताएका छन् ।
प्रमुख मेहताले इनरुवाका विधार्थीहरु नजिकै विज्ञान र प्राविधिक क्याम्पसहरु नहुदाँ धरान, इटहरी, बिराटनगर र काठमाण्डौं जान बाध्य भएकाले उनीहरुलाई आफनै घरमा खाएर उच्च शिक्षा लिनका लागि सहज हुने गरी शिक्षामा परिर्वतनको प्रयासमा लागेको बताए ।
विधार्थीहरुसँग पहिलो पटक साक्षात्कार भएका प्रमुख मेहताले विधार्थीहरुको समस्या, सवाल, चाहना र आवश्यकतालाई बुझनका लागि आफूले अन्तरक्रिया कार्यक्रम राखेको बताउँदै शैक्षिक क्षेत्रमा केही परिर्वतन भएपनि चाहेजस्तो नभएकाले त्यसमा निरन्तर लागि परेको दाबी गरें । विधार्थीहरुले गरेको प्रश्न र उठाएको सवालको जवाफ दिदैं मेहताले विज्ञानशास्त्रमा विधार्थीमैत्री पठनपाठन र वातावरणका लागि आफू लागि परेको बताए ।
उनले आफ्नो कार्यकालमा धेरै काम गर्ने सोच राखेको भएपनि सिमित श्रोतसाधनका बीच काम गर्नुपर्दा केही समस्या रहेको सुनाउँदै आफूले सकेजति काम गर्ने प्रतिवद्धता जनाए । अबको क्याम्पस प्रविधियूक्त, विज्ञान प्रयोगशालाले भरिपूर्ण, आधुनिक पोशाक र विधार्थीमैत्री , भौतिक पूर्वाधार समेत हुनुपर्ने भएकाले आफू त्यसका लागि क्रियाशिल भएर लागेको सुनाए ।
उनले विधार्थीहरुको खेलकुदप्रतिको प्रश्नमाथि जवाफ दिदैं देशभरी खेलकुदको माध्यमबाट इनरुवाको पहिचान स्थापित गराएको दाबी गरें । विधार्थी बिराट आचार्यले खेलकुदको आयोजना भएपनि खेलाडी उत्पादन किन नभएको ? खेलाडीलाई खेलकुद सामग्री किन नदिएकोे लगायतको प्रश्न राखेकोमा नगर प्रमुख मेहताले पहिचानका लागि खेलकुदले योगदान गरेको र खेलाडी उत्पादन गर्ने काम समेत नगरपालिकाले गर्न लागेको जवाफ दिए ।
अर्का विधार्थी क्षितिजा निरौलाले इनरुवा–६मा भएको विकास निर्माण काममा गुणस्तरहीन सामग्री प्रयोग भएको र निर्माण भएको ६ महिना नपुग्दै भत्किएको प्रश्न राखेकोमा प्रमुख मेहताले त्यसको अनुगमन आजको भोली नै गर्ने र बिग्रिएको पाइए निर्माण कम्पिनलाई नै मर्मत वा पुनःनिर्माण गर्न लगाउने प्रतिवद्धता जनाए । मेहताले इनरुवा–६ मधेशा क्षेत्रमा संघीय प्रदेश सहित ८० करोडको योजना रहेकाले सबैको निगरानी जरुरी रहेको बताए ।
विधार्थीले निःशुल्क शिक्षाका लागि पहल गर्नुपर्ने र छात्रबृतिमा सहयोग हुनुपर्ने सुझाव राखेकोमा प्रमुख मेहताले आफू इनरुवाको विधार्थी अध्ययनरत रहेको इनरुवा बाहिरका सबै क्याम्पससँग समन्वय, छलफल र प्रस्तावको तयारीमा रहेको बताउँदै प्रत्येक क्याम्पसलाई कम्तिमा दुईजना इनरुवाको विधार्थीलाई पूर्ण छात्रबृतिमा पढाउनुपर्ने प्रस्ताव राख्ने बताए ।
प्रमुख मेहताले नगरपालिका आफैले सबैलाई शिक्षा दिन नसकेपनि समन्वय भने गर्ने प्रतिवद्धता जनाए । उनले संघीय सरकारको शिक्षा कार्यविधि र नीति आएसँगै नगरपालिकाले समेत आफनो शिक्षानीति सार्वजनिक गर्ने तयारीमा रहेको बताए । मेहताले आफूहरुको शिक्षानीतिमा कक्षा–३ सम्म झोला र किताब बिहिन पठनपाठनको तयारी गरेको सुनाए । कार्यक्रममा किशोर मेहता, दीपिका निरौला, सतिक्षा खड्का लगायतकाले प्रश्न गरेका थिए । कार्यक्रम इनरुवा इभेन्ट म्यानेजमेन्टको संयोजनमा भएको थियो भने सञ्चालन युवा अभियान्ता धिरज भट्टराईले गरेका थिए । कार्यक्रममा नगर क्षेत्रका बिभिन्न तहमा अध्ययनरत दुई सय भन्दा बढी विधार्थीहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया