अध्यादेशमार्फत् बसेको संवैधानिक परिषदको बैठकका सिफारिसविरुद्ध दायर रिटको पेसी स्थगित – Nagarikabhiyan : National News

अध्यादेशमार्फत् बसेको संवैधानिक परिषदको बैठकका सिफारिसविरुद्ध दायर रिटको पेसी स्थगित

काठमाडौं । अध्यादेशमार्फत संवैधानिक परिषद बैठकले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्ति बदरको माग गर्दै दायर भएको रिटमाथि सर्वोच्च अदालतले शुक्रबार पेसी स्थगित गरेको छ ।

अधिवक्ताद्वय डा. दिनेश त्रिपाठी र ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि शुक्रबार हुनुपर्ने पेसी सर्वोच्चले स्थगित गरेको हो ।

रिटमा संविधानको मर्मविपरीत सरकारले अध्यादेश ल्याएर उक्त अध्यादेशमार्फत बसेको संवैधानिक परिषदको बैठकले गरेको नियुक्ति सिफारिस बदर गरिपाउन माग गरिएको छ । रिट निवेदकले संवैधानिक आयोगमा भएको नियुक्ति सिफारिस कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेशसमेत माग गरेका छन् ।

रिट निवेदक त्रिपाठीका अनुसार संवैधानिक परिषदको बैठकले गरेको नियुक्ति सिफारिसलाई ४५ दिनको समय कटाएर परिपक्व बनाउने उद्देश्यका साथ पेसी स्थगित गरिएको हुन सक्ने टिप्पणी गरे ।

उल्लेखनीय छ, अध्यादेशमार्फत बसेको संवैधानिक परिषदको बैठकमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरासमेत उपस्थित थिए ।  रातोपाटी