विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ – Nagarikabhiyan : National News

विप्लव समूहका जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

विराटनगर ।  नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट बुधबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईका अनुसार बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए । लामो समयदेखि प्रतिवन्धित नेकपा विप्लव समूहमा आवद्ध रहेका उनी मोरङ जिल्ला ईन्चार्ज हुन् ।

उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई हातहतियार खरखजना कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।