गोवरगाढामा चिसो पिडित बालबालिकालाई न्यानो कपडा प्रदान – Nagarikabhiyan : National News

गोवरगाढामा चिसो पिडित बालबालिकालाई न्यानो कपडा प्रदान

राजविराज । सप्तरीको गोबरगाढास्थित रहेको एक अधारभुत विद्यालयमा अध्यनरत १ सय ३५ जना बिद्यार्थीलाई चिसोबाट जोगिनको लागि बुधवार यहाँ न्यानो कपडा बितरण गरिएको छ ।

तराई मधेसमा केही दिन यता बढेको शितलहरका कारण बालबालिका चिसोमा विद्यालय जान समस्या भइरहेको अवस्थामा सैनिक श्रीमती संघ तथा अजिज फाउण्डेशन नेपालले न्यानो कपडा लगायत बिभिन्न सामग्री वितरण गरेका हुन ।

सैनिक श्रीमती संघ र अजिज फाउण्डेशन नेपालले कोशी टप्पु र चारेतिरबाट पानी बग्ने गरेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको विकट गाउँ गोबरगाढास्थित सारदा आधारभूत विद्यालयका १ सय ३५ बालबालिकालाई न्यानो कपडा तथा ब्याग लगायतका सामाग्री वितरण गरेको सैनिक श्रीमती संघले जनाएको छ ।

सो क्रममा नेपाली सेना भिम दल गण राजविराजसितको समन्वयमा विद्यालयमै पुगेर सैनिक श्रीमती संघ भद्रकालीले स्कुल ब्याग, जुत्ता, मोजा तथा अजिज फाउण्डेशन नेपालले ट्रयाकसुट र टिसर्ट लगायतका सामग्री वितरण गरेको जनाइएको छ ।

चिसोबाट बढी प्रभावित तथा आर्थिक रुपले कमजोर गरिब, असहाय, विपन्न परिवारका बालबालिकाको सूची तयार गरी विद्यालयमै पुगेर सामग्री वितरण गरिएको सैनिक श्रीमती संघकी सदस्य सुप्रिया थापाले जानकारी दिनुभयो ।

विद्यालयमा आयोजित एक कार्यक्रमबीच सैनिक श्रीमती संघकी सदस्य सुप्रिया थापा, भिम दल गणका गणपति प्रमुख सेनानी निरज भण्डारी, फाउण्डेशनका संस्थापक अध्यक्ष सेरकी लामु शेर्पा, संस्थापक सदस्य रोशन भण्डारी, एम्बेसडर डा. किशन भण्डारी लगायतले बालबालिकालाई उक्त सामाग्री वितरण गर्नुभएको थियो ।

यसअघिमात्र अपाङ दिवसको अवसरमा सैनिक श्रीमती संघले शारीरिक रुपमा अशक्त भई कष्टकर जीवन बिताउन बाध्य १३ जनालाई राजविराजमा ह्वील चेयर वितरण गरेका थिए ।