जनकपुरमा महतो र भण्डारीले भने : प्रतिनिधिसभा पुनःस्थापना गर्नु नै जनताको हितमा छ
२७ पुष २०७७, सोमबार १९:५२
जनकपुरधाम । प्रदेश नम्बर २ को सत्तारुढ जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिष्टलाई अत्याधिक मत दिएर जनताले अपराध गरेको बताएका छन् । आज जनकपुरधाममा आयोजित विशाल जनप्रदर्शन तथा विरोधसभामा विघटित प्रतिनिधिसभाका सदस्य समेत रहेका नेता महतोले कम्युनिष्टलाई जनताले करिब दुई तिहाई सिटमा जिताएर अपराध गरेको बताएका हुन् ।
उनले भने,‘प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथीको गम्भीर प्रहार हो । संविधानलाई टेकेर बनेको सर्वोच्च संस्था प्रतिनिधिसभालाई ओलीले आफ्नो कुर्सी बचाउनका लागि अकालमा हत्या गरेका छन् । मधेसी जनताको छातीमा गोली हानेर काँग्रेस, एमाले र माओवादीले फास्ट ट्रयाकको नाममा संविधान निर्माण गरेपनि मधेसी जनता पुनः अधिकार पाउनबाट ओलीले बञ्चित गरेको बताए ।
विरोधसभामा जसपाका अर्का नेता शरत्सिंह भण्डारीले प्रधानमन्त्री ओली जनताको दुश्मन रहेको आरोप लगाए । पूर्वमन्त्रीसमेत रहेका भण्डारीले ओलीले संसद विघटन गरेर देशमा राजनीतिक अस्थिरता निम्त्याएर वितण्डा मचाएको बताए । नेता महतोले संविधानमा उल्लेख नै नरहेपनि ओलीले मनोमानी ढंगले संसद विघटन गरेको आरोप लगाउँदै ओलीतन्त्रको मतलव मनपरीतन्त्र रहेको दावी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया