नारायणीका कोरोना संक्रमितको दैनिकी : नमाज पढ्ने, फोनमा गफिने
२२ बैशाख २०७७, सोमबार १९:०३
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल प्रदेश–२ मा हालसम्म भेटिएका कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको उपचारको थलो बनेको छ । संघीय सरकारले लेभल–२ को कोरोना अस्पताल घोषणा गरेपछि नारायणीमा अन्य सेवा ठप्प छ ।
यो अस्पतालमा पर्सा, बारा, रौतहट र सर्लाहीका ११ जना संक्रमितको उपचार भइरहेको छ । यसअघि कोरोनामुक्त भनेर डिस्चार्ज भएका दुई जना पनि पुनः अस्पताल भर्ना भएका छन् । सबै विरामीको अवस्था सामान्य छ ।
कतै निस्कन नपाउने भएकाले कोरोना संक्रमितका लागि अस्पतालको आइसोलेसन वार्ड जेलजस्तै लाग्नु स्वाभाविक हो । लकडाउनमा घरमा बस्नुपर्दा त मानिसहरू उकुसमुकुस मानिरहेका छन् भने आइसोलेसन वार्डमा बिरक्त लाग्नु अनौठो कुरै भएन ।
नारायणीमा पहिलेको इमर्जेन्सीलाई आइसोलेसन वार्ड बनाइएको छ । संक्रमितलाई भर्ना लगत्तै दिइने स्वच्छता किटमा व्यक्तिगत सरसफाइका लागि चाहिने सबै सामान हुन्छन् । बिहान चिया–खाजापछि स्वास्थ्यकर्मीले सबै संक्रमितसँग फोनमा सोधपुछ गर्छन् ।
नियमित तालिकाअनुसार बिहान, दिउँसो र बेलुका खाजा–खानापछि संक्रमितहरूसँग फोनमा कुराकानी गर्छन् । औषधि दिने बेलामा पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट ९पीपीई० लगाएर वार्डभित्रै जान्छन् ।
दुरी कायम गरेर राखिएका संक्रमितहरूलाई फोनमा आफन्तजनसँग कुराकानी गर्न कुनै रोकावट छैन । स्टाफ नर्स अञ्जना श्रेष्ठका अनुसार उनीहरूले अधिकांश समय फोनमा कुरा गरिरहेका हुन्छन् ।
मुस्लिम समुदायका संक्रमितहरू दैनिक पाँचपटक नमाज पढ्छन् । वार्डमा ११ संक्रमितमध्ये १० जना मुस्लिम समुदायका छन् । एक सातादेखि मुस्लिम समुदायको महान चाड रमजान चलिरहेको छ । १४ वैशाखमा भर्ना भएका वीरगञ्जका दुई संक्रमित पहिल्यैैदेखि मधुमेह ९सुगर० र रक्तचाप ९ब्लड प्रेसर०को औषधि सेवन गरिरहेका थिए ।
आइसोलेसन वार्डमा समस्या हुने भएपछि उनीहरूले रोजा सार्ने निर्णय गरेको स्टाफ नर्स श्रेष्ठले बताइन् । उनका अनुसार, वैशाख १६ गते थपिएका रौतहटका दुई जना संक्रमित पनि रोजा सार्ने निर्णयमा पुगेका छन् । ‘दुईजना मात्र रोजा बस्नुभएको छ’, उनले भनिन्, ‘अहिले औषधि धेरै खानुपर्ने हुँदा निको भएपछि रोजा बस्ने भन्नुभएको छ ।’
पुनः भर्ना भएका रौतहटका युवकले लामो समय आइसोलेसनमा बसेकाले रोजा बस्न नसकेको बताए । ‘रोजा बस्न तागत चाहिन्छ, तर १५ दिन आइसोलेसनमा बस्दा शरीर कमजोर भइसकेको थियो’, उनले टेलिफोनमा भने, ‘त्यसैले पछि बस्ने निधो गरियो ।’
यसअघि कोरोनामुक्त भएर गएका चारैजना मुस्लिम समुदायका थिए ।अनलाइनखबरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया