दुई तिहाई बढी जनप्रतिनिधि ओलीतिर, प्रचण्ड–माधव समुहमा उथलपुथल !
२६ पुष २०७७, आईतवार १४:०३
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिधान र जनमतबिपरित अध्यक्ष र प्रधानमन्त्री बन्न नसकेपछि अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै समुह गठन गरेपनि संघीय राजधानी काठमाडौंका दुई तिहाई भन्दा बढी जनप्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै खुलेका छन । नेकपा गठनपछि पूर्वएमालेमा २७ बर्ष नेतृत्व गर्नुभएका झलनाथ खनाल र माधव नेपाल प्रचण्ड समुहमै लागेपनि काठमाडौंका जनप्रतिनिधिहरु मुलधारमै बसेका हुन ।
पार्टी बिभाजनपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मुल पार्टीसँगै पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालको अर्को समूह बनेको छ । पार्टीको केन्द्रमा देखिएको विभाजन प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पुगेको छ । यसको असर विघटित प्रतिनिधि सभादेखि प्रदेश सभा हुँदै स्थानीय तहका जनप्रतिनिधिमा पनि परेको छ । यही क्रममा काठमाडौंका दुई तिहाई जनप्रतिनिधि ओलीतिरै बसेका हुन ।
यसको असर काठमाडौं उपत्यकाका स्थानीय तहमा झन् प्रष्ट देखिएको छ । उपत्यकाका तीनमध्ये काठमाडौंबाट प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कित्ता प्रष्ट पारेका छन् । काठमाडौंका अधिकांश जनप्रतिनिधि नेकपाको ओली समूहमा खुलेका छन् । प्रतिनिधि सभाका ६ मध्ये ४ जना, प्रदेशका १६ मध्ये १२ जना ओली नेतृत्वको नेकपामै खुलेका छन । नेकपाबाट अलग भएको प्रचण्ड र माधव नेपाल समुहपक्षमा प्रतिनिधि सभाका २ र प्रदेशका ४ जना जनप्रतिनिधि मात्रै देखिएका छन ।
स्थानीय ११ वटा तहमध्ये मेयर र उपमेयर गरी नेकपाका १५ जना जनप्रतिनिधि रहेका छन् । तीमध्ये ९ जना ओलीको पक्षमा खुलेका छन् । २ जना तटस्थ रहेका छन् । प्रचण्ड-माधव पक्षमा ४ जनामात्रै खुलेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया