हात्तीको आतंक जारी, स्थानीय जाग्राम बस्न बाध्य
२५ पुष २०७७, शनिबार ११:०१
इनरुवा । सुनसरीमा यसपाली जाडो कम भएपनि कोशी क्षेत्रमा हात्ती आतंक भने कम भएको छैन् । हात्तीको तानडव कायमै रहेकाले विपन्न समुदायको बिचल्ली भएको छ । कोशी टप्पु बन्यजन्तु आरक्षबाट निस्केर आएको जंगली हात्तीले शुक्रबार मध्यराती मात्रै कोसी गाउँपालिका ४ मा आतंक मच्चाएको छ ।
हात्तीले मच्चाएर कोशी ४ का स्थानीय अफरोज आलम सहितका घरमा क्षती गरेको छ । जंगली हात्तीले स्थानीय अफजल मियाँ, नसरुद्दीन मियाँ, महरुपा खातुन, गुलाम रसुल, जाकिर मियाँ सहितको घरमा क्षती सहित संरचनामा तोडफोड गरेको छ । हात्तीले घरमा भण्डारण गरेको धान, गहु, मकै र चामल खाएर नष्ट गरेको स्थानीय अफरोज आलमले जानकारी दिनुभयो ।
उता सुनसरीको कोशी क्षेत्रमा एकपछि अर्को जंगली जनावरको आतंक र आक्रमण बढेपछि स्थानीयहरु आन्दोलित बनेका छन् । पुस महिनामा मात्रै दुईजनाको ज्यान लिने गरी हात्ती आक्रमण भएको र दर्जन बढी घरमा क्षति गर्नुकोसाथै बालीमा नोक्सानी गरेकोले स्थानीयहरु संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन् ।
कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले संघर्ष समितिले घोषणा गरेको आन्दोलनलाई पूर्ण समर्थन गरेको बताउनुभयो । अध्यक्ष अन्सारीले समस्यालाई समाधानका लागि आफूबाट पूर्ण सहयोग हुने बताउँदै प्रत्येक घरबाट आन्दोलनमा सहभागि हुनुपर्नेमा जोड दिनुभयो । आन्दोलनबाटै संघीय सरकारलाई घचघच्याउने चेतावनी दिर्दै अन्सारीले नटेरे थप आन्दोलनको घोषणा गर्ने समेत बताउनुभयो । जंगली जनावर पीडित संघर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलले पीडितहरुको अधिकार प्राप्तिको लागि आन्दोलन सुरु गरेको बताउनुभयो । ज्ञापनपत्र बुझाएको हुदाँ मागलाई सम्वोधन गर्न आवश्यक रहेको र माग सम्वोधन नभए आपूmहरु थप आन्दोलन गर्ने चेतावनी दिएको बताउनुभयो । हात्तीको विज्ञ टोलीले गरेको निर्णय कार्वान्वयन नभएको हुदाँ आफूहरु फेरी आन्दोलनको घोषणा गरेको बताउनुभयो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको मकुना हात्तीको आक्रमणबाट मसिर २९ गते कोशी गापा–६ का प्रमोद यादव र पुस १३ गते कोशि–५ का मोती कामेतको निधन भएपछि कोशीका स्थानीयहरुले सुरक्षाको प्रत्याभूतीको महसुस नभएकाले पुनः आन्दोलनको घोषणा गरेका हुन् । आरक्षबाट निस्केका हात्तीको आक्रमणबाट दश वर्षमा २२ जना भन्दाबढीको मृत्यु भइसेकको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया