ओली कदमको स्वागत गर्दै प्रचण्डविरुद्ध बोले गृहमन्त्री थापा
२४ पुष २०७७, शुक्रबार २०:४९
काठमाडौं। नेकपाको प्रचण्डनेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनस्थापना हुनुपर्छ भन्ने माग गर्दै आएका बेला गृहमन्त्री रामबहादुर थापा संसद पुनस्थापनाको विरुद्ध बोलेका छन् ।
उनले विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना नभएको बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टी दोलखाले चरिकोटमा आज आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले जनताले अस्थिरता नभई स्थायीत्व चाहेको र समाजवाद एवं समृद्धिको पक्षमा जनता रहेको हुँदा सबैले ताजा जनादेश चाहेको उल्लेख गरे ।
आम नागरिकले स्थायी सरकार चाहेको र नतिजामुखी काम गर्ने समयमा सरकार ढाल्नका लागि पार्टीभित्रैबाट चलखेल गर्ने, आरोपपात्र दर्ता गराउने, आफ्नै सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउनेजस्ता गतिविधिले पार्टीमा फुटको स्थिति आएको वताउँदै गृहमन्त्री थापाले अव राष्ट्रियताको नारा लिएर ताजा जनादेशमा जाने वताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले देशमा अस्थिरता खोज्ने तथा देशको विकास र सम्वृद्धि नचाहने तत्वले प्रधानमन्त्री विरुद्ध चालेको कदम गलत भएका कारण यो अवस्थाको सिर्जना भएको वताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया