म दोहोर्याएर, तेहर्याएर भन्न चाहान्छु, चुनाव वैशाख १७ गते नै हुन्छ : प्रधानमन्त्री ओली
२४ पुष २०७७, शुक्रबार १६:२६
प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा चुनाव हुने जिकिर गरेका छ। शुक्रबार धनगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्धारित मिति वैशाख १७ र २७ मा निर्वाचन भएरै छाड्ने ठोकुवा गरे। उनले निर्वाचन ओयोगले चुनावको सम्पूर्ण तयारी थालेको समेत बताए ।
‘केपी ओलीले चुनाव गर्दैन भनेका छन्, म फेरि दोहोर्याएर, तेहर्याएर भन्न चाहान्छु, चुनाव वैशाख १७ गते नै हुन्छ। साथीहरु ढुक्क रहनुहोस्, चुनावमा लाग्नुहोस्, तयारीमा लाग्नुहोस्,’ उनले भने। आफू ६४ प्रतिशतको प्रधानमन्त्री हुँदा संसद् विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेकाले कुनै पनि हलतमा पुनर्स्थापना नहुने उनकाे तर्क थियाे ।
उनले भने, ‘६४ प्रतिशतको प्रधानमन्त्रीलाई देशका लागि काम गर्न दिएनन्। त्यसैले ताजा जनादेशमा जनाका लागि प्रतिनिधिसभा विघटन गरेको हुँ,’, उनले भने, ‘अब प्रतिनिधिसभा पुनर्स्थापना हुने अर्को विकल्प छैन। अर्को विकल्प भनेको चुनावपछि आउने प्रतिनिधिसभा नै हो।’
प्रधानमन्त्री ओलीले अब नयाँ निर्वाचनले मात्र प्रतिनिधि सभा दिनसक्ने बताए। ‘चुनावभन्दा अर्को विकल्प छैन। संवैधानिक, व्यवहारिक, कानुनी, आवश्यकताको सिद्धान्त, अन्तर्राष्ट्रिय प्रचलन मर्यादा कुनै हिसाबले पनि अब प्रतिनिधि सभा चुनावबाट मात्र आउँछ,’ उनले भने।
प्रधानमन्त्री ओलीले चुनावमा गलत र राष्ट्रघाती तत्वलाई तलैबाट तह लगाउन जनतालाई आग्रह गरेका छन् । ‘खराब तत्वहरुलाई तलैबाट हत लगाउनुहोस्, माथि गए भने तिनले फेरि समस्या पार्छन, दुःख दिन्छन् । तिनीहरुलाई तह लगाउनु भनेको भोट नहाल्नु हो, मत नदिनु हो, नदिनुहोस्। मैले हस्ताक्षेर गरेर पठाएका उम्मेदवारलाई भोट दिनुस् । त्यसको जिम्मा म दिन्छु, देश विकास को जिम्मा दिन्छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया