ऊर्जामन्त्री रायमाझीको जिकिर : मैले एमसीसी पास गर्नुपर्छ भनेर कहिल्यै भनेको छैन
२१ पुष २०७७, मंगलवार ०८:४०
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमझीले एमसीसीबारे आफूले दिएको अभिव्यक्तीबारे मिडियाले गलत प्रचार गरेको जिकिर गरेका छन् । एमसीसी पारित गर्नुपर्छ भनेर आफूले कहिल्यै नभनेको उनले बताए ।
‘एसीसीलाई पारित गर्नुपर्छ भनेर मैले कहिल्यै भनेको छैन । बरु राष्ट्रतमा छैन भने यसलाई सहमतिमै खारेज गरौं भनेको हुँ ।’ एक सञ्चार माध्यसँगको आन्तरवार्तामा उनले भने, ‘मेरो अभिव्यक्तिलाई मिडियाले गलत प्रचार गरे ।’ एमसीसीलाई अगाडी बढाउने नै हो भने यसमा रहेका राष्ट्रघाती बुँदाहरु खारेज गरौं भनेर भनेको उनको जिकिर छ ।
तत्कालिन माओवादी केन्द्र नेता रायमाझी नेकपा विभाजनपछि अहिले प्रधानमन्त्री ओली समूहबाट ऊर्जामन्त्री बनेका हुन् । ऊर्जामन्त्रीको पदभार सम्हालेकै दिन उनले एमसीसीलाई पारित गर्नुपर्छ भनेको भनेर बाहिर सार्वजनिक भएको थियो ।
साथै रायमाझीले आफू बाध्य भएर सरकारमा गएको बताएका छन् । ‘सरकारमा जानु मेरो बाध्यता हो ।’ उनले भने ‘जनताका सबै मुद्धालाई सडकमा लेगेर पछारेपछि यसलाई सम्हाल्ने कसले ? त्यसकारण म सरकारमा गएको हुँ ।’
रायमाझीले नेपाली कांग्रेसले निर्वाचनमा जाने मनस्थिति बनाइसकेकोले अब सडकमा रहेका सबै दलपनि निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटन संवैधानिक भएको दाबी गर्दै उनले प्रधानमन्त्री केपी ओलीले संविधानको धारा ८५ को १ बमोजिम संसद विघटन गरेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया