सप्तरीको तिलाठी कोइलाडीमा पक्की पुल शिलान्यास – Nagarikabhiyan : National News

सप्तरीको तिलाठी कोइलाडीमा पक्की पुल शिलान्यास

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीस्थित भीमा नदीमा आज पक्की पुलको शिलान्यास गरिएको छ ।

संघीय सरकारको लागतमा निमार्ण हुने सो पक्की पुलको सोमबार एक कार्यक्रमबीच राष्ट्रिय सभाका सदस्य शेखरकुमार सिंहले शिलान्यास गर्नुभयो ।

उक्त पुल निर्माणको शिलान्यास गर्दै राष्ट्रिय सभा सदस्य सिंहले नयाँ पुल निर्माणले यस भेगका बासिन्दाहरुलाई आवतजावतमा सजिलो हुने विश्वास ब्यक्त गर्नुभयो ।

नयाँ पक्की पुल निर्माण गरिने स्थानमा काठे पुल जिर्ण भएको थियो ।

सोही काठे पुललाई विस्थापित गर्दै नयाँ पुल निर्माण कार्य थालिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिनुभयो ।

पूर्वाधार विकास कार्यालयद्वारा टेण्डर गरिएको उक्त पुलको कूल लागत रु एक करोड ७७ लाख ४० हजार छ सय रुपियाँ रहेको छ ।

धरानको सूर्या एण्ड सन्स प्रालिले पुल निर्माणको ठेक्का पाएको हो । ६ मिटर चौडाइ र २१ मिटर लम्बाइको सो पुल निमार्ण हुने बताइएको छ ।

बस्तीको बीचमै रहेको नदीमा यसअघि काठेपुलमार्फत सर्वसाधारण आवत–जावत गर्ने गरेका थिए । यद्यपि उक्त पुल जीर्ण भएपछि त्यहाँ पक्की पुलका लागि चौतर्फी पहल थालिएको थियो ।