संघीयता खारेजीको तयारीमा प्रधानमन्त्री ओली, पार्टीभित्रैबाट दबाब !
१७ पुष २०७७, शुक्रबार १०:३४
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले संघीयता खारेजीको तयारी गरेका छन् । संघीयता नेपालले धान्न नसक्ने अवस्था र प्रदेश संरचना प्रभावहीन भइरहेका बेला ओलीले बहुसंख्यक जनभावनालाई सम्बोधन गर्दै संघीयता खारेजीको तयारी गरेका हुन् ।
केही दिनअघि ओलीले प्रदेशमा प्रचण्ड नेपाल समूहले कदम चाले आफूले थप कदम चाल्ने चेतावनी दिएका थिए । उनले प्रदेश विघटनको संकेत गरेका थिए । अब उनको समूहले खारेजीका लागि नै दबाब दिएपछि तयारीमा लागेको बुझिएको छ ।
उनी निकट नेकपा केन्द्रीय सदस्य निरुदेवी पालले विहीवार रातीमात्रै संघीयता खारेज गर्न प्रधानमन्त्रीलाई सुझाव दिएकी छिन्।
संघीयता खारेजसँगै केन्द्रीय सरकारको मन्त्रीमण्डल समेत १५ सदस्यीय बनाउन पालको सुझाव छ। फेसबुकमार्फत ओलीलाई दिएको सुझावमा उनले भ्रष्टाचारीलाई जेलमा सडाउने आँट गर्न पनि सुझाव दिएकी छिन्।
पालले भनेकी छिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस् संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद्को सिट १०५, केन्द्रको मन्त्रीमण्डल बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरी मा सडाउने आँट गर्नुस्। नेपाली जनताको मनमस्तिस्कमा सधैं बस्नुहुनेछ। मेरो ब्यक्तिगत बिचार ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया