जानकी नवमीमा जनकपुर सुनसान
१९ बैशाख २०७७, शुक्रबार १३:२८
जनकपुरधाम। आज जानकी नवमी अर्थात् माता जानकीको जन्म दिन । तर माता जानकीको माइत जनकपुरधाम सुनसान छ । लकडाउनका कारण यहाँ कुनै किसिमको चहलपहल छैन् ।
गत वर्षहरुमा चार दिनअघि देखि नै जानकी नवमीको चहलपहल देखिने गरेकोमा यस पटक सुनसान छ । जानकी नवमीका दिन जानकी मन्दिरमा हुने जन्म आरतीमा हजारौंको सहभागिता हुने गरेपनि यस पटक महन्थ र पूजारी मात्रै सहभागी हुने भएका छन् ।
मन्दिरका महन्थ रामरोशन दासले जानकी नवमीका दिन बिहान जन्म अभिषेक, मध्यान्ह १२ बजे जन्म आरती, त्यस लगत्तै भजन, कलशमा दीप प्रज्जवलन गर्दै विशेष पूजापाठ गर्ने गरिएको बताए । यी विधिहरुमा अन्य वर्ष हजारौंको सहभागिता हुने गरिएपनि यस पटक मन्दिरका पुजारी मात्रै यो विधिमा सहभागी हुने उनले बताए । उनले यस पटक घरमै जानकीको पूजापाठ गर्न सम्पूर्ण श्रद्वालुसँग आग्रह गरेको बताए ।
गत वर्ष मात्रै जानकी नवमी धुमधामका साथ मनाइएको थियो । १५ दिने महोत्सवकै आयोजना गरी मनाइएको गत बर्षको जानकी नवमीमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सरिक भएकी थिइन् ।
माता जानकीको जन्म वैशाख शुक्ल पक्षको नवमी तिथिका दिन मध्यान्हमा भएको मानिदैं आएको छ । यसपालि भने लकडाउनको कारण जनकपुर सुसान देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया