संरक्षण नहुँदा लोप हुँदै यी रैथाने खेल – Nagarikabhiyan : National News

संरक्षण नहुँदा लोप हुँदै यी रैथाने खेल

सुनसरी । तराईलगायत देशका प्राय सबै क्षेत्रबाट परम्परागत रैथाने खेल लोप हुँदै गएका छन् । विगत तीन दशकको अवधिमा धेरै रैथाने खेल लोप भइसकेका र कतिपय खेल लोपोन्मुख अवस्थामा पुगेका छन् ।

कुनै समय नेपालको राष्ट्रिय खेलको उपमा पाएको कपर्दी र डण्डिबियो अहिले लोपोन्मुख अवस्थामा छन् । त्यसैगरी बढी खेलिने कुस्ती, चिक्का, लच्चिकडाँडी चटकी–डाँड र लट्ठीलगायतका रैथाने खेल देखिन छाडेका छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा परम्परागत रैथाने खेललाई खेलकुदभित्र समेटेको भए पनि त्यसको आधिकारिकता, संरक्षण र विकासका लागि कुनै पहल गरेको देखिएको छैन ।

परम्परागत रैथाने खेलप्रति सरकारले कुनै चासो नदेखाएको खेलप्रेमी रमेश कुर्मीकोे गुनासो छ । उहाँले भन्नुभयो, “मधेशका लोकप्रिय खो–खो, आठ–काठ, गोबरतोतो, आइस–पाइस, लङ्गड–गोटी, आँखा छोप्ने, खेल त देख्नै पाइएको छैन ।”

बालबालिकामा मोबाइल र इन्टरनेटप्रति बढ्दो ‘क्रेज’का कारण बालापनका रैथाने रोमाञ्चक खेल दिन प्रतिदिन लोप हुँदै गएको मधेश मानव अधिकार गृह ९माहुरी–होम० कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष तथा अवधि संस्कृतिका स्थानीय अभियानकर्ता रामदयाल ठाकुरले बताउनुभयो ।

“पातलाई पैसा मानेर त्यसैबाट सरसामानको खरिद बिक्री गर्ने, रुखको हाँगा हल्लाएर मोटर चढेको महुसस गर्ने वा सलाईको बट्टालाई धागोले जोडेर बनाएको टेलिफोनमा साथी सँगाती मिलेर कुराकानी गर्दै खेल्ने बालापनका रोमाञ्चक खेल अहिले लोप भएर गएका छन् ।”

उहाँका अनुसार भँवरा, मौरी वा झिँगालाई सलाईको बट्टाभित्र राखेर ‘रेडियो’ बजाउनेदेखि तितली किराको खुट्टामा धागो बाँधेर उडाउँदै–तान्दै लिइने मनोरञ्जन अहिले केवल इतिहास भएका छन् ।

“प्रविधिको विकाससँगै अहिलेका बालबालिकाहरू शारीरिक अभ्यास हुने खेल खेल्न छाडिसकेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो पालामा कागजका डुङ्गा बनाएर पानीमा तैराइन्थ्यो । चङ्गा उडाउने प्रतिस्पर्धा हुन्थ्यो, कागजको जहाज उडाइन्थ्यो, गोली–गुच्चा खेलिन्थ्यो । तर अहिलेका बालबालिका मोबाइलमै झुम्मिन्छन् र नानाभाँतीका खेल मोबाइलमै खेल्छन् । परम्परागत रैथाने मनोरञ्जक खेल त अब हराएर गए ।”

ठाकुरका अनुसार अहिलेका बालबालिकाले न साथी सँगातीहरूसँग हौसिँदै बालापनमा खेल्नु पर्ने परम्परागत रैथाने खेलहरू खेल्न पाएका छन्, न त यस्ता खेल खेल्न विद्यालय र अभिभावकले नै बालबालिकालाई प्रोत्साहित गरेको देखिन्छ । उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “खो–खो, दौड र कुदान९जम्प०खेल पनि हराउँदै गएका छन् ।”

अहिलेका बालबालिका फ्रि–फायर, पब्जी तथा युवाहरू तास र लुँडो जस्ता इन्टरनेटको सहायताले खेलिने शारीरिक अभ्यासबिनाका आधुनिक खेलमा एकोहोरो हुँदा सामूहिक भावनामा ह्रास आउने गरेको रामनरेश माध्यमिक विद्यालय धकधईमा अध्यापनरत सामाजिक विषयका शिक्षक सिद्धार्थकुमार त्रिपाठीले बताउनुभयो ।

शिक्षक त्रिपाठीका अनुसार परम्परागत रैथाने खेलको एउटैमात्र व्यवस्थित र सर्वमान्य नियम हुँदैन । ठाउँ र खेलको लोकप्रियताका अनुसार यसका नियमहरू केही फरक हुन सक्छन् ।

हाम्रा परम्परागत रैथाने खेल वातावरणमैत्री हुनुका साथै आर्थिक हिसाबले पनि सस्तो रहेको कुस्ती–प्रशिक्षक पहलवान राजेन्द्र यादवले बताउनुभयो । “शारीरिक स्फुर्ति, मनोरञ्जन र भाइचाराको सम्बन्ध स्थापित गर्न सघाउने यी खेल लोप हुनु जनस्वास्थ्य तथा राष्ट्रिय पहिचान सबैका लागि घाटा हो”, उहाँले भन्नुभयो ।

“रैथाने खेलहरु देशका पहिचान, सभ्यता र संस्कृति हुन्”, अन्तर्राष्ट्रियस्तरमा पहिचान जमाएका पूर्वकबड्डी खेलाडी मनोज दनुवारले भन्नुभयो, “यतिबेला नेपालमा क्रिकेट सङ्घ र फुटबल सङ्घबाहेक अन्य खेल सङ्घहरूले राष्ट्रिय अधिवेशनसमेत गर्न नसकेर क्लबमा परिणत भएका छन्, यो यहाँका रैथाने खेलका लागि अधोगति हो ।”

खेलकुद मन्त्रालयले रैथाने शारीरिक खेलको संरक्षण र विकासका लागि कुनै सार्थक पहल नगरेको कबड्डी खेलका रेफ्री समेत रहेका दनुवारले बताउनुभयो । उहाँले सन् १९७० को दशकमा राष्ट्रिय खेलकुद परिषद्ले रैथाने खेलको खोजी गर्न समिति गठन गरेको भए पनि सार्थक प्रतिफल नदेखिएको बताउनुभयो ।

उहाँका अनुसार तत्कालीन समयमा कुन खेललाई अन्तर्राष्ट्रियस्तरमा लैजान सकिन्छ रु भन्ने बारेमा सुझाव माग भएको थियो । सोही अध्ययनले ‘नेपालमा सबैभन्दा धेरै खेलिने खेल भलिबल हो’ भन्ने देखाएको थियो । त्यतिबेला रैथाने खेलको बारेमा अध्ययन गरेर प्रतिवेदन पनि तयार पारिएको थियो तर त्यो प्रतिवेदन सार्वजनिक हुन सकेन ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ ले खेलकुद शब्दलाई परिभाषित गर्ने क्रममा गाउँघरका केही परम्परागत रैथाने खेललाई समेत खेलकुदभित्र समेटेको छ । यस विषयमा तीन दशकअघि खोजी भए पनि पछिल्लो समय खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकूद परिषद् समेतले परम्परागत खेलबारे चासो लिएको देखिएको छैन ।